केपी ओली र हामीहरु कुनै पनि कोणबाट उस्तै होइनौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताएका छन् । बुधबार ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरुसँग भेट गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मूल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताएका  हुन् ।

उनले प्रधानमन्त्री केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट गर्दै यसका लागि विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताए ।

उनले भने, “सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन । २०१७ साल तिर रायामाझीले सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?” विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको दोहोर्याउँदै प्रचण्डले नेपाली जनतालाई आफ्नो सर्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र केपी ओली बनाइएको बताए । उनले चारैतिर घेरामा ओली परेको भन्दै आफूहरु बलियो बन्दै गएको स्पष्ट पारे ।

सो अवसरमा विद्यार्थी नेताहरुले केपी ओलीको कुशासनको ठाउँमा सुशासनको अपेक्षा गरेका थिए । यसको लागि नेताहरुको प्रतिवद्धता दिलाउन एक अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताए ।

उनीहरुले सो कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह पनि गरे । जनतामा भएको निराशालाई आशामा परिणत गर्न नेताहरुबाट सार्वजनिक प्रतिवद्धताका लागि विद्यार्थीहरुको आग्रह थियो ।

केपी ओली भन्दा फरक शैलीमा देश सञ्चालन गर्ने, संविधानको रक्षा गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने दलहरुको प्रतिवद्धता दिलाउने कार्यक्रमका लागि उनीहरुले सामूहिक निम्तो दिएका थिए ।

पाँच वटै विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा नेपालको संविधान को धारा ३१,३३ र ३५ ले क्रमशः शिक्षा, रोजगार र स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा किटानी गरिएको जनताको संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा ओली सरकार दलाल, कमिशनखोर र माफियाहरुको चङ्गुलमा डुबेर अनाधिका कुण्ठित पार्न उद्दत रहेको जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *