स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा

प्रज्जवल थापा । इटाली युईएफए युरोकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै इटाली चौथो पटक युरोकपको फाइनलमा प्रवेश गरेको हो ।

वेम्बली रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिको थियो । सुटआउटमा स्पेनकोलागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका अल्भारो मोराटा चुकेपछि जोर्जिन्होले गोल गर्दै इटालीलाई जित दिलाएका हुन् । यस्तै इटालीको लागि अन्य खेलाडी एन्ड्रेआ बेलोट्टी, लियोनार्दो बोनुची र फेड्रिको बेर्नार्डेस्कीले गोल गर्दा मानुयल लोकाटेली चुके । यता स्पेनको लागि जेराड मोरेनो र थियागो अल्कान्टाराले गोल गर्न डनियल ओल्मो र अल्भारो मोराटा असफल रहे ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै ८० औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पेनाल्टी सुटआउटमा पुगेको खेलमा इटाली भाग्यमानी सावित रह्यो ।

जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३३ खेलसम्म लम्ब्याएको छ । अब इटालीले आइतबार हुने फाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्कबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *