एजेन्सी । युरोकप २०२० को क्वाटरफाइनल प्रवेशको लागि आज फिफा वरियताको शिर्ष स्थानमा रहेको बेल्जियम र साविक विजेता पोर्चुगल भिड्दैछन् । इस्टेडियो ओलम्पिको डि सेभिल्लामा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।

समूहचरणको तीनै खेलमा जित निकालेको बेल्जियम आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । फिफा विश्वकप-२०१८ मा तेस्रो स्थानहात पारेको बेल्जियम उपाधिको बलियो दाबेदारी टोली हो । बेल्जियमले पहिलो खेलमा रसियालाई ३-० गोलले पराजित गर्दै प्रतियोगिताको शुरुवात गरेको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गरेको बेल्जियमले समूहचरणको अन्तिम खेलमा फिनल्यान्डलाई २-० गोलले हराउदै शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको थियो ।

यता उपाधि रक्षाको शुरमा रहेको पोर्चुगल आजको खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै बेल्जियमलाई हराउन चाहन्छ । तर बेल्जियमलाई हराउन पोर्चुगललाई सहज भने पक्कै छैन। बेल्जियमले पछिल्लो १२ खेलमा हारको स्वाद चाखेको छैन । समुहचरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोलले हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको पोर्चुगलले दोस्रो खेलमा जर्मनीसँग ४-२ गोलको हार बेहोरेको थियो । तेस्रो खेलमा भने पोर्चुगलले विश्वविजेता फ्रान्सलाई २-२ गोलको बराबरीमा रोकेको थियो । ‘ग्रुप अफ डेथ’ मानिएको समुह ‘एफ’मा रहेको पोर्चुगल फ्रान्स र जर्मनीपछि तेस्रो स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो । गत संस्करणमापनि तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीको रुपमा नकआउट चरणमा पुग्दै पोर्चुगलले उपाधि उचालेको थियो ।
प्लेयर टु वाच

१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
आजको खेलमा धेरैको नजर भने पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमा हुनेछ । फ्रान्सविरुद्व पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी अली दाइको कीर्तिमानसँग बराबरी गरेका थिए । हाल दुवै खेलाडीको नाममा समान १ सय ९ गोल रहेको छ । आजको खेलमा गोल गरेको खण्डमा रोनाल्डो सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् । जारी प्रतियोगिताको ३ खेलमा रोनाल्डोले ५ गोल गर्दै १ एसिस्ट प्रदान गरिसकेका छन् ।
२. केभिन डि ब्रुयन (बेल्जियम)

चोटको कारण रसियाविरुद्वको पहिलो खेल गुमाएका डि ब्रुयनले दोस्रो खेलमा पुनरागमन गर्दै १ गोल र १ एसिस्ट प्रदान गरेका थिए । ब्रुयनको आगमनसँगै बेल्जियमको मिडफिल्ड थप बलियो देखिएको छ । उनले जारी प्रतियोगितामा १ गोल गर्दै २ एसिस्ट प्रदान गरिसकेका छन् । त्यसैले ब्रुयन आजको खेलमा पोर्चुगलको लागि टाउको दुखाई बन्न सक्छन् ।
हेड टु हेड
दुई टोलीबिच भएको पछिल्लो १८ भेट मध्य ६ खेलमा पोर्चुगल विजयी भएको छ भने ५ खेल बेल्जियमले आफ्नो पोल्टामा पारेको छ । बाँकी ७ खेल बराबरीमा सकिएको छ। हालसम्म बेल्जियमले पोर्चुगलको पोस्टमा २२ गोल गर्दा पोर्चुगलले २१ गोल गरेको छ ।
