महामारीमा दाताले जहाजबाट पठाएकाे भेन्टिलेटर, चलाउने जनशक्ति नहुँदा अस्पतालै थन्किए

काठमाडौँ । कोभिड महामारीबीच अक्सिजन र भेन्टिलेटर अभावमा जनताको जीवन जान थालेपछि सरकारले विश्वसमुदायसँग सहयोगको लागि हात फैलायो, नेपालको स्वास्थ्य प्रणाली ‘क्र्यास’ भयो भन्दै विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि संसाभरबाट सहयोग पनि जुट्यो ।

महामारी सुरु भएपछि विभिन्न दातृराष्ट्र तथा संस्थाबाट अहिलेसम्म तीन सय ६७ वटा भेन्टिलेटर प्राप्त भएका छन् । सरकारले तीन सय चार भेन्टिलेटर विभिन्न अस्पतालमा पठाएको जनाएको छ । तर, दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।

भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण सञ्चालन र अनुगमन आफैँमा जटिल र संवेदनशील सेवा हो । क्रिटिकल केयरमा दक्ष जनशक्तिले मात्र यस्ता उपकरण चलाउन सक्छन् । तर, नेपालमा ‘क्रिटिकल केयर’को जनशक्तिको योग्यताबारे खास कुनै नियम बनाइएको छैन ।

‘नेपालमा क्रिटिकल केयरको विज्ञतासम्बन्धी विभागसमेत छैन । एनेस्थेसियामा काम गर्ने चिकित्सकले आफैँ जान्ने भएर नेपालको स्वास्थ्य सेवामा योगदान गरेका छन्,’ डा। भगवान कोइराला भन्छन्, ‘देशका विभिन्न भागमा उपकरण पठाउन सकिन्छ । तर, क्रिटिकल केयरको जनशक्ति पुर्याउन सक्ने अवस्था छैन । यसले गर्दा कैयौँको ज्यान अकालमा गएको छ ।’

आइसियू र भेन्टिलेटर सञ्चालनका लागि क्रिटिकल केयर ‘स्पेसलिस्ट’ नेतृत्वमा टिम चाहिन्छ । तर, अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालमा ‘क्रिटिकल केयर’का चिकित्सकको दरबन्दी नै सिर्जना गरिएको छैन । एनेस्थेसियाका चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

एनेन्थेसियोलोजीका विज्ञहरूले नै अहिले क्रिटिकल केयरको जिम्मेवारी पूरा गर्दै आएका छन् । यसका लागि नेपाल सरकारसँग जम्मा ८० जनाको दरबन्दी छ । त्यसमा पनि जम्मा २९ जना चिकित्सक सेवामा छन् ।

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखामा भएको अभिलेखअनुसार एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट ९एघारौँ तह०मा कार्यरत चिकित्सक जम्मा सातजना छन् । सुपर स्पेसलिस्टमध्ये वीर अस्पतालमा तीन, प्रसूतिगृहमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा एकजना रहेको समाचार नयाँ पत्रिका दैनिकमा समाचार छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *