काठमाडौं । तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।
गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो ।
कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए । आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलोकनगरका देवी सुवेदी, स्थानीय समाजसेवी राजेशमोहन प्रधानलगायतले रोपिएको बिरुवा दैनिक अनुगमन गरी संरक्षण गरिने वाचा गरेका थिए ।
त्यस क्षेत्रको नदी किनारमा गत वर्ष रोपिएका गुर्जोका बिरुवा पनि बढेको अवस्थामा पाइएको अभियानकर्मी राजलवटले जानकारी दिए । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको उनले बताए । यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।
आन्तरिक राजश्व कार्यालय लाहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रुपमा निःशुल्क वितरण अभियानमा उनी लागेका हुन् । हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन् ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।