अफगान सेना तखार प्रान्तका दुई जिल्ला पुनः आफ्नो नियन्त्रणमा लिन सफल

अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिए ।

सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरुमा घार र बांगी रहेका छन् । यी दुई जिल्लालाई केही दिनअघि तालिबान विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएका थिए । सैनिक प्रवक्ता नजारीले सेनाको कारबाहीका बारेमा विस्तृत विवरण भने दिएका छैनन्, तर उनले दुबै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताए ।

अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन् । सेनाले गरेको पछिल्लो कारबाहीका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरु फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाही थालेको छ । पछिल्लो एक महिनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *