काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष पार्टी आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत नेताहरु पार्टीको आधिकारिकता दावी गर्न आयोग पुगेका हुन् ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । पार्टीको निर्णयअनुसार उनीहरु आयोग पुगेका हुन् ।
जसपामा अहिले यादव र महन्थ ठाकुर गरी दुई पक्ष छ । ठाकुर पक्ष सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा छ । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निस्कसित गरेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ ।
