प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले समर्थन गर्न सक्दैनौंः निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत मागेपछि गुरुङले पोखरेल व्यक्तिगत रुपमा सही भएपनि गठबन्धन अवसरवादीहरुको रहेकाले समर्थन गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘पोखरेललाई विश्वासको मत दिन्न भन्न गाह्रो । उहाँलाई सद्भाव छ । तर सरकारलाई विश्वासको मत मागेकाले दिन सकिन्न । यो अवसरवादीहरुको गठबन्धन भएकाले विश्वासको मत दिन सकिन्न ।’

उनले संघीयतालाई बलियो बनाउने काममा भने सरकारलाई साथ दिने बताए । उनले काठमाडौंमा बसेका सबै नेताहरुका कारण संघीयता अप्ठेरोमा रहेको बताए उनले भने, तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन । काठमाडौंको मानसिकता, ठूला ठूला प्रशासक र राजनीतिज्ञ समस्या हुन् । किन प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न सकिएको छैन । थोरैमात्र कर्मचारी छन् संघीयतामा सहयोग गर्ने ।’

उनले धेरै प्रदेशका मुख्यमन्त्रीहरु अप्ठेरोमा रहेकाले संघीयतालाई बलियो बनाउन समस्या रहेको बताए । उनले भने, ‘प्रदेश सरकारका धेरैजसो मुख्यमन्त्रीहरु अप्ठेरोमा रहेका छन् । हिजो म थिएँ आज पोखरेल पनि हुनुहुन्छ । संघीयतालाई बलियो बनाउने, कार्यान्वयनका लागि एमाले साथमा रहन्छ । सहयात्री हुन तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *