महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको चाप घट्दै

कञ्चनपुर । कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप घट्दै गइरहेको छ । कोरोना सङ्क्रमितको उपचारमा सक्रिय महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० सङ्क्रमित उपचाररत रहेका जानकारी दिए । “वैशाखको दोस्रो लहरका सङ्क्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ”, डा रोकायाले भने, “अहिले अवस्था सामान्य बन्दै गएको छ ।”

अस्पतालमा वैशाखमा १३० सङ्क्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ । त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय सङ्क्रमित रहेका उनले बताए । “दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय सङ्क्रमित हुनुहुन्थ्यो”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ ।”

उनले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिए । भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ ।

त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ । बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सङ्क्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताए । “अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ”, उनले भने, “कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *