तीन दिनदेखि रोकिएको उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु

काठमाडौं । तीन दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।

विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षातको समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।

दुई वर्षका लागि भने पनि विगत १३ वर्षदेखि सिसडोलमा फोहर राख्दै आएकाले अहिले उक्त स्थानमा सहजरूपमा फोहरको व्यवस्थापन गर्न सकिँदैन । विगतमा फोहर राखेर बाँकी रहेका केही थोरै–थोरै ठाउँमा फोहर राखिँदै आएको छ ।

वर्षाको समयमा मात्रै होइन, अन्य समयमा पनि स्थानीयवासीले विभिन्न किसिमका माग राख्दै फोहर व्यवस्थापन कार्यमा अवरोध गर्दै आएका छन् । उपत्यकाको फोहरलाई दीर्घकालीनरूपमै व्यवस्थापन गर्ने गरी केन्द्र सरकारले धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा फोहर व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको छ ।

निर्माणको कामका लागि तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासम्म सकिएको छन् । गत जेठबाटै पहिलो चरणको निर्माण सकी फोहर व्यवस्थापनको काम गर्ने भने पनि नदीजन्य निर्माण सामग्रीको समस्या भएको भन्दै अहिलेसम्म सुरसार छैन ।

अहिले उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा कामपाबाट मात्रै ५०० मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *