बाढी पहिरोले पुर्याएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र प्राकृतिक विपत्ति न्यूनिकरणका लागि जिम्मेवार बन्न सम्वद्ध सबैलाई आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले हालै देशभर बाढी पहिरोले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ । प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ । अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *