वेल्स र रसियाको पहिलो जित

प्रज्जवल थापा । युरोकप २०२० मा वेल्स र रसियाले पहिलो जित निकालेका छन् । बुधबार भएको आ–आफ्नो खेलमा दुवै टोलीले जित निकालेका हुन् । समूह ’ए’ को खेलमा वेल्सले टर्कीलाई २–० गोलले पराजित गरेको हो ।

बाकी ओलिम्पियामा भएको खेलमा वेल्सलाई जित दिलाउन एरोन राम्से र कोनोर रोबर्ट्सले एक/एक गोल गरे । पहिलो हाफको ४२ औं मिनेटमा गेरेथे बेलको पासमा राम्सेले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा बेल पेनाल्टीमा चुक्दा वेल्सले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा बेलकै पासमा कोनोरले गोल गर्दै वेल्सलाई २–० गोलको जित दिलाए । जितसँगै वेल्स २ खेलबाट ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ । यस जितसँगै वेल्सको अन्तिम १६ पुग्ने सम्भावना थप बलियो बनेको छ । यता टर्कीको भने अन्तिम १६ को यात्रा कठिन बनेको छ ।

यस्तै बुधबारनै भएको समूह ’बी’को खेलमा रसियाले फिनल्यान्डलाई १–० गोलले हराउँदै प्रतियोगिता पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा डेनमार्कसँग स्तब्ध बनेको रसियालाई जित दिलाउन एलेक्से मिरान्चुकले एक गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा डज्युबाको पासमा मिरान्चुकले गरेको गोल नै रसियाको जितमा निर्णायक बन्यो । यसअघि चौथो मिनेटमै जोएल पोहजान्पालोले गरेको गोल भिएआरले अफसाइड दिँदा फिनल्यान्ड निराश बनेको थियो ।

जितसँगै रसिया २ खेलबाट ३ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ । समान अङ्क जोडेको फिनल्यान्ड हेड टु हेडमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *