अब कोही पनि ‘ओली भाइरस’बारे कुनै भ्रममा नपरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेश सरकार गठनमा पनि केन्द्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेजस्तै कदम चाल्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले भनेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!’

गत बिहीबार प्रदेशसभाबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई आज दिउँसो तीन बजेसम्म समय दिएकी थिइन् ।

तर विपक्षी गठबन्धनले शुक्रबार साँझ नै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ३१ सांसदले हस्ताक्षर बुझाएका थिए । तर प्रदेशप्रमुखले नेपालीलाई नियुक्त गरेकी छैनन् । शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले आफू पनि मुख्यमन्त्री दाबी गरेर निवदेन पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *