गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

गण्डकी । प्रदेशसभामा विश्वासको मत गुमाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनका लागि पुनः दाबी पेश गरेका छन् ।

उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् । राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् ।

जनता समाजवादीको प्रदेश समितिले महन्थ ठाकुरको हस्ताक्षर सहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको छ । प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । त्यो समय आज दिउँसो तीन बजे सकिएको छ ।

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दावी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दावी पेस गरेका थिए । गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *