आत्मालोचना गर्दै वैद्यले भने-मैले बोलेको कुरा संसदीय मर्यादाविपरित भएकाले रेकर्डबाट हटाउन आग्रह गर्दछु

काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार आफूले दिएको अभिव्यक्तिको आत्मालोचना गरेका छन् । शनिबार प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्रीसँग आफ्नो व्यक्तिगत रिसइबी नभएको बताएका हुन् ।

उनले पार्टीको निर्देशन बमोजिम आफूले आत्मालोचना गरेको बताए । उनले भने, ‘ प्रधानमन्त्रीले आफ्नो कुर्सी बचाउनका लागि जुनसुकै हत्कण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म अत्यन्त आवेगमा आएर, त्यसक्रममा अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपयोग गरेको आफूलाई फिल भएको छ। त्यसैले पार्टीको निर्देशन मुताविक आत्मालोचना गर्दछु।’

उनले आफूले बोलेको कुरा कुटनीतिक र संसदीय मर्यादाविपरित भएकाले रेकर्डबाट हटाउन आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका प्रदेश सांसद वैद्यले वागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको बताएका थिए ।

नाथुराम गोड्से ती हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानी हत्या गरेका थिए । वैद्यको अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो । नेकपा एमालेले उनलाई फौजदारी कानुनअनुसार कारबाहीको माग गरेको थियो । त्यस्तै कांग्रेसले वैद्यलाई अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *