कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा त्यसबारेमा छलफल हुनेछ । यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए । त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ ।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

बैठकमा कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *