वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनकः एमाले

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको बताएको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

शुक्रबार नेपाली कांग्रेसका प्रदेश सांसद वैद्यले वागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको बताएका थिए । नाथुराम गोड्से ती हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानी हत्या गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *