उद्घाटन खेलमा इटालीको शानदार जित

प्रज्जवल थापा । युईएफए युरोकप-२०२० को उद्घाटन खेलमा इटालीले शानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको हो ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीलाई जित दिलाउन किरो इम्मोबिल र लोरेन्जो इन्सिग्नेले एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । सबै गोल दोस्रो हाफमा भएको थियो । ५३ औं मिनेटमा विपक्षी खेलाडी बेरार्डीले हानेको बललाई बचाउने क्रममा मेरि डेमिरालले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि इटालीले खेलमा अग्रता लिएको थियो ।

६६ औं मिनेटमा इम्मोबिलले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । यस्तै ७९ औं मिनेटमा इम्मोबिलको पासमा इन्सिग्नेले गोल गर्दै इटालीलाई ३-० गोलको शानदार जित दिलाए । जितसँगै इटालीले युरोको शुरुवात जितबाट गरेको छ । यससँगै इटाली ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । पराजित टर्की समूहको पुछारमा छ ।

आज हुने समूहको अर्को खेलमा वेल्स र स्वीजरल्यान्ड भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *