डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।

निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।

हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।

विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।

निगमले गत सोमबारदेखि नै लागू हुनेगरी हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि, नेपाल वायुसेवा निगमलगायत कम्पनीले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धन मूल्य अत्यधिक महँगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

गुनासा सम्बन्धमा यसअघि प्रधानमन्त्री, अर्थमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग निगमले छलफल गर्दै आएको थियो । उनीहरूको मागअनुरूप सरकारले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइदिएको हो ।

स्वदेशी वायुसेवाका विमानले खपत इन्धनको अधिकांश मात्रा यहीँ भरिने हुन्छ । जसका लागि वायुसेवा निगमले खरिद गर्ने इन्धनमा सामान्य अवस्थामा वार्षिक साढे ४ अर्ब खर्च भइरहेको अवस्थामा अब २० प्रतिशले घटेको मूल्यले नियमलाई १ देखि डेढ अर्बसम्म फाइदा हुने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएकी छन् ।

हाल, निगमले हवाई इन्धन मूल्य घटाएर अन्य पेट्रोलियम पदार्थजस्तै अन्तर्राष्ट्रिय बजारको भाउअनुरूप स्वचालित बनाउने निर्णयसमेत गरेको छ । यो निणर्यसँगै निगमले कार्गोे उडान भाडादर घटाइसकेको जानकारी प्रवक्ता श्रेष्ठले दिइन् । ‘निगमले नाफा पनि अब १५ प्रतिशतभन्दा बढी नलिने निणर्य गर्नु हवाई इन्धनमा हुने खर्च पनि कम हुनु हो,’ उनले भनिन् ।

यसअघि, हवाई इन्धनबाट बढी फाइदा लिँदा वायुसेवा निगमको विमान उडानका लागि इन्धनमा हुने खर्च बढी हुने गरेको भन्दै श्रेष्ठले अहिलेकै निर्णयमा केही समय अडिग रहने हो भने घाटा कम गर्नमा निकै सहयोग हुने अपेक्षा गरिएको सुनाइन् ।

हाल, वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका वाइडबडी र न्यारोवडीका चार विमान छन् । यी विमानमा प्रयोग हुने हवाई इन्धन मूल्य नेपालमा महँगो हुँदा घाटामा जाने गरेको निगमले बताउँदै आएको थियो । यसअघि, निगमसहितका स्वदेशी वायुसेवाको अन्तर्राष्ट्रिय उडान घाटामा जानुको प्रमुख कारण महँगो हवाई इन्धन हुने गरेको निगमको दाबी थियो ।

वायुसेवा सञ्चालक संघ नेपालले विदेशको तुलनामा हवाई इन्धनको भाउ महँगो भएको र यसमा पनि सरकारले बढी नाफा लिने गरेकाले स्वदेशी वायुसेवा कम्पनी मारमा परेको बताउँदै आएको थियो ।

निगम महाप्रबन्धक डिमप्रसाद पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको प्रस्तुतीकरणमा निगमले प्रदान गर्ने हवाई इन्धन संसारकै तुलनामा नेपालमा महँगो रहेको उल्लेख गरेका थिए ।

प्रस्तुतीकरणमा ‘हवाई इन्धनको मूल्य दिल्लीमा औसत ०.४४, दोहामा ०.३७, मुम्बईमा ०.४८ हुँदा नेपालमा भने १.२९ हुने गरेको’ उल्लेख छ ।

हाल, आयल निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनबाट ४० प्रतिशत नाफा लिँदै आएको छ । यस्तो नाफा निणर्य हुनुअघि ७० प्रतिशतसम्म लिने गरेको थियो ।

निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढी नाफा लिएर एलपी ग्यासको नाक्सानी परिपूर्ति गर्ने गरेको छ । आयल निगमले हवाई इन्धनबाट कोरोना महामारीको एक वर्षमा अन्तर्राष्ट्रिय हवाई इन्धनबाटै पाक्षिक १ अर्ब ५० करोड नाफा कमाउने गरेको थियो । यस्तो नाफा एलपी ग्यासमा सहुलियत दिन प्रयोग हुँदै आएको आयल निगमको भनाइ छ ।

निगमले इन्धनको मूल्य घटाएपछि वायुसेवा निगमले पनि चार्टर उडान भाडा घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा हुने चार्टर उडान भाडा गत २४ जेठदेखि नै लागू हुनेगरी घटाएको हो ।

नियमित उडान सुचारुपछि निगमले अन्य गन्तव्यको भाडामासमेत समायोजन गर्ने जनाएको छ । हवाई इन्धनको भाउ घटेसँगै वायुसेवा निगमका वाइडबडीको चार्टर उडान भाडा प्रतिघण्टा २०६० र न्यारोबडीको ११३० डलरले घटेको छ ।

यो भाडादर वाइडबडीको १५ हजार ५ सय २० र न्यारोबडीको ७ हजार ७ सय १० अमेरिकी डलरबाट क्रमशः १३ र १५ प्रतिशले घटाएको निगमले जानकारी दिएको छ । घटेको चार्टर उडान भाडादर अब वाइडबडीको प्रतिघण्टा १३ हजार ४ सय ६० र न्यारोबडीको ६ हजार ५ सय ८० डलर हुने वायुसेवा निगमले जनाएको छ ।

हवाई इन्धनको भाउ २० प्रतिशतले घटेर भाडामा समेत कमी आएपछि हवाई यात्रुलाई केही फाइदा भएको छ । जसका कारण उनीहरूले केही सस्तो उडान सेवा पाएको निगमले जनाएको समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *