नेपालमाथि अष्ट्रेलियाको सहज जित

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत भएको समूहको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । शुक्रबार राति भएको खेलमा एसियन पावर हाउस अष्ट्रेलियाले १० खेलाडीमा समेटिएको नेपालमाथि ३-० गोलको सहज जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

कुवेतस्थित जाबेर अल अहमद रंगशालामा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन मात्थेउ लेकी, फ्रान कारासिक र मार्टिन बोयलले समान एक/एक गोल गरे । पहिलो हाफको छैटौं मिनेटमा अजिज बेहिचको क्रसमा मात्थेउले हेडिङ गोल गर्दै अष्ट्रेलियालाई खेलमा अगाडि बढाएका हुन् । यस्तै ३८ औं मिनेटमा मात्थेउको पासमा फ्रान कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । बोयललाई डि-बक्स बाहिर वान भर्सेस वानको अवस्थामा फवल गरेपछि रेफ्रीले नेपालका डिफेन्डर रोहित चन्दलाई सिधै रातो कार्ड दिएका थिए । यस्तै ५७ औं मिनेटमा ज्याक्सनको पासमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई सहज स्थितिमा पुर्याएका थिए । पहिलोको हाफको तुलना दोस्रो हाफमा कम गोल बेहोरेपनि नेपालले विपक्षीको पोस्टमा एक सटपनि प्रहार गर्न सकेन ।

अष्ट्रेलियाले गोलअन्तर बढाउने थुप्रै अवसर सिर्जना गरेपनि नेपालका गोलरक्षक किरण चेम्जोङ बारम्बार बाधक बनेका थिए । जितसँगै अष्ट्रेलियाले छनोटमा लगातार सातौं जित निकालेको छ । अष्ट्रेलिया ७ खेलमा सतप्रतिशत जित निकाल्दै २१ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । यता नेपालले भने हारसँगै छनोटको अन्त्य गरेको छ । नेपालले ८ खेलबाट ६ अङ्क जोड्दै समूहको चौथो स्थानमा रहेको छ ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसिया कपको तेस्रो चरण पुग्ने सम्भावनापनि सकिएको छ । अब नेपालले  एसियन कपको तेस्रो चरण पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *