सभामुखको सर्वदलीय बैठकः लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने निष्कर्ष

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको राजनीतिक परिस्थितिका बारेमा राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा नेताहरुले विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका थिए ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेकाले सर्वोच्च अदालतले पुनःस्थापना गर्नुपर्ने बताएका हुन् । त्यसक्रममा नेताहरुले लोकतान्त्रिक व्यवस्था धरापमा परेकाले लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका थिए । बैठकपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैठकमा लोकतन्त्र धरापमा परेको भन्दै साझा चिन्ता व्यक्त भएको बताए ।

उनले खोपको व्यवस्थापन हुन नसकेको र चुरेबाट गिट्टी बालुवा निकासी हुन लागेकाले सबै राजनीतिक दलहरु एकै भएर जानुपर्ने विषयमा छलफल केन्द्रित भएको बताए । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वदलीय बैठकको निष्कर्ष लोकतन्त्रलाई बचाउने भएको बताए ।

संसद विघटन असंवैधानिक र गलत भएको भन्दै लोकतान्त्रिक र परिवर्तनका पक्षधर शक्तिहरु लोकतन्त्र रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको उनले बताए ।

सर्वोच्च अदालतले न्याय दिएर संविधान र लोकतन्त्रको रक्षा गर्नेमा सबै पार्टी विश्वस्त भएको उनले बताए । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष यादवलगायत सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बैठकमा बोलाइएपनि उनी भने उपस्थित भएनन् । यसअघि सभामुखले कानुन व्यवसायी र पूर्वसभामुखहरुसँग परामर्श गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *