राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न जनमोर्चाको संसदीय दलले ह्वीप जारी गरेको थियो । तर थापाले ह्वीप उल्लंघन गर्दै तटस्थ बसेका थिए । थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो । यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए । एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएका थिए ।

यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो।

त्यसविरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टीका नेता र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुगेका छन्। त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *