दार्चुला–तिंकर सडक आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गरिने

नरेन्द्र कार्की, दार्चुला । दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो ।

नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जीनियर सुशील देवकोटाले जानकारी दिए ।

“व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारैकिनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भने, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारैकिनार भएर तिंकरसम्म पुर्याउने प्रयास गरिएको छ ।”

सर्भेक्षणको क्रममा १८ जनाको टोली सहभागी थियो । भौगोलिकरूपमा विकट र पहाड तथा जङ्गलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्भेक्षणको काममा बढी समय लागेको इञ्जीनियर देवकोटाको भनाइ छ । “चालु आर्थिक वर्षमा डिपिआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौँ”, उनले भने “फिल्ड प्रतिवेदन सकिएकाले अबको दुई महिनाभित्र डिपिआर निर्माण सकिन्छ ।”

सरकारले दु्रतगतिमा रणनीतिक महत्व बोकेको दार्चुला–तिंकर सडकलाई सेनामार्फत काम गराउने निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ ।

“सुनसेरामा क्याम्प निर्माण सकिएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, “दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।” डिपिआर प्राप्त भएपछि आगामी आर्थिक वर्षबाट यो सडकको निर्माण शुरु हुने पौडेलले बताए । “हामीले जिम्मेवारी लिइसकेपछि समयमै निर्माण सक्ने गरी काम गर्छौँ । सोहीअनुसार अहिले क्याम्प राख्ने काम भइरहेको छ”, उनले भने ।

आगामी आर्थिक वर्षबाट निर्माणको काम शुरु गर्ने गरी सेनाले आवश्यक जनशक्ति फिल्डमा खटाएको छ । आर्थिक वर्ष २०६४/६५ बाट निर्माण शुरु भएको दार्चुला–तिंकर सडकखण्डको ४३ किलोमिटर सडकखण्डमात्रै अहिलेसम्म ट्रयाक खुलाइएको छ । अहिले सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका–३ सम्म सडकको ट्रयाक खुलाउने काम भएको छ । महाकाली लोकमार्गअन्तर्गत साविकको दार्चुला–तिंकर सडकखण्डअन्तर्गत चार किलोमिटर सडक लोकमार्गअन्तर्गत निर्माण हुनेछ ।

सरकारले महाकाली लोकमार्गका लागि आगामी आर्थिक वर्षका लागि एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये महाकाली लोकमार्ग, दार्चुला–तिंकर सडक योजनाले चलाउने बजेट र सेनामार्फत सञ्चालन गरिने सडक योजनाको बजेट के–कति हो भन्ने छुट्याइएको छैन ।

“अहिलेसम्म हामीलाई बजेट कति आउने हो भन्ने यकिन भएको छैन”, नेपाली सेनाका प्रवक्ता पौडेलले भने, “बजेट सिलिङ प्राप्त भएको छैन । यस आर्थिक वर्षभित्र हामीले डिपिआर निर्माण गर्ने लक्ष्य हो ।”

महाकाली लोकमार्ग महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ । यस सडकखण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ ।

जसअनुसार महाकाली करिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला–तिंकर सडकखण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला–तिंकर सडकखण्डमध्ये ४७ किलोमिटर सडकखण्ड महाकाली लोकमार्गले निर्माण गर्नेछ ।

अहिले लोकमार्गअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न सडक खण्डमा काम भइरहेको छ । महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए ।

कोभिडका कारण चालु आर्थिक वर्षमा निर्माणकार्यले गति लिनसकेको छैन । व्याँसको तिंकरसम्म सडक पुर्याउन सक्यो भने यस सडकले रणनीतिक महत्व राख्दछ । सडक निर्माण गर्न सक्यौँ भने चीनसँगको सीधा व्यापार, भारतसँग व्यापार गर्न सहज हुने उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए ।

उनले भने, “यो सडक सडक मात्रै हुने छैन, सुदूरपश्चिमकै व्यापारिक नाका हुनेछ । धार्मिक दृष्टिकोणले पनि यस सडकको महत्व छ । यो सडक भएर भारतले अतिक्रमण गरेको नेपालको ओमपर्वत, कैलाश मानसरोवर दर्शन गर्न सहज हुनेछ । भारतले महाकाली नदी किनारैकिनार भएर लिपलुेक हुँदै मानसरोवर सडकखण्ड बनाएको छ । अहिले भारतले सडकमा कालोपत्रदेखि दुई लेन सडक निर्माणको काम अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *