गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार प्रदेशसभामा भएको मत विभाजनमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

गुरुङको पक्षमा २७ मत र विपक्ष ३० मत परेको थियो । बिहीबारको बैठकमा ५८ सांसद उपस्थित भएका थिए भने मतदान ५७ सांसदले गरेका थिए । मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका थिए ।

विश्वासको मत नपाएसँगै गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *