मुम्बईमा आवासीय भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु

पश्चिम भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ ।

मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ । भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन् ।

मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन् । बुधवार राति भवन भत्किएको घटनाबारे छानबिन गर्न अधिकारीहरूले निर्देशन दिएका छन् ।

महाराष्ट्र राज्यका एक मन्त्रीले ठूलो वर्षाका कारण उक्त दुर्घटना भएको बताएका छन् । ठूलो वर्षा हुन सक्ने सम्भावना भएकाले जीर्ण भवनबाट मानिसहरूलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण विभिन्न क्षेत्रमा पानी जम्न थालेकाले मुम्बईमा उच्च सतर्कता अपनाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *