दक्षिण अफ्रिकी महिलाले एकै पटक जन्माइन् १० सन्तान

दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ ।

गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएका थिए । तर १० वटा जन्मिँदा आफू छक्क परेको उनले बताए । ‘सात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ,“ सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले बताइन् ।

३७ वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए । गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । दक्षिण अफ्रिकी अधिकारीहरूले बीबीसीसँग एकै पटकमा १० वटा बच्चा जन्मिएको पुष्टि गरे ।

गिनिज वर्ल्ड रेकर्ड्सले सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ । सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन्। एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनकै नाममा रहेको छ । तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चालाई जन्म दिएकी थिइन् ।

धेरै भ्रुण भएको गर्भ प्रायः खेर जाने गरेको बताइन्छ । मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिने घटना दुर्लभ हुन्छन् ।

प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा मात्र त्यस्ता घटना हुने गरेको पाइन्छ। तर यो घटनामा ती दम्पतीले प्राकृतिक रूपमै गर्भाधान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *