बेलायती महारानीबाट नेपालमा कोरोनाको अवस्था र खोपबारे चासो

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गरेकी छन् । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पेश गरेको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गरेकी हुन् ।

महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमार महारानीले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् ।उनले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गरिन् ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए ।
सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गरेको दूतावासले उल्लेख गरेको छ ।

राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद दिएका थिए । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *