सभापति देउवाले प्रतिवद्धता जनाए पनि भदौमा कांग्रेस महाधिवेशन कठिन

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन् । तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन ।

महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन् । ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु ।’

तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरू नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरू नै त्यसमै अड्को थापिरहेका छन् । जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोकसहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सकेको छैन ।

अहिलेसम्म ४ लाख १९ हजार ९ सय ३९ नयाँसहित ८ लाख ३ सय १७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन् । सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन । महाधिवेशनको कार्यतालिकाअनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो । अहिलेसम्म सदस्यता छानबिनको काम ठोसरूपमा अघि बढ्न सकेको छैन ।

अर्कोतिर कोरोना भाइरसको बढ्दो संक्रमण र बर्खाको समयले महाधिवेशनका लागि बाँकी कार्य सम्पादन गर्न कठिन बन्दै गएको छ । कोरोना भाइरसको जोखिम रहेकै बेला कार्यकर्ताको स्वास्थ्यलाई जोखिममा राखेर महाधिवेशन गर्न नहुने धेरैको बुझाइ छ ।

महाधिवेशन भनेको निर्वाचनमात्र नभएर सिंगो संगठन सञ्चालनका लागि नीति निर्माण गर्ने थलो पनि भएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले कोरोना भाइरसको संक्रमणमा कम नआए भदौमा महाधिवेशन सम्भव नरहेको औंल्याउँछन् । पार्टी नेता तथा कार्यकर्तामात्र होइन, आम जनताको जनस्वास्थ्यमा जोखिम रहेका बेला लोकप्रियताका लागि मात्र महाधिवेशनको कुरा गर्न नहुने भन्दै उनले थपे, ‘यो वर्ष बाढीपहिरोको जोखिम पनि बढी रहेको भनिएको छ । कोरोना र बाढीपहिरोको जोखिम कम भएमात्र भदौमा महाधिवेशन सम्भव छ ।’

साउन पहिलो सातासम्म क्रियाशील सदस्यता टुंगो लाग्यो र साउन १८ गतेबाट तल्लो तहको अधिवेशन सुरु हुँदा पनि भदौमा महाधिवेशन गर्न सकिने बताउँदै उनले भने, ‘होइन भने महाधिवेशन गर्न सम्भव छैन, त्यसको विकल्प खोज्नुपर्छ ।’ याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *