रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात

काठमाडौँ । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग ८५ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल मौज्दात छ । तर, त्यो मल किसानहरूसम्म पुग्न सकेको छैन । सरकारले मलको वितरण सहज भएको दाबी गरे पनि कृषि र साल्टका कर्मचारीहरूले नै मलको आपूर्ति सहज नभएको स्वीकार गरेका छन् ।

मल नभएर किसानले नपाएको भन्दा पनि वितरण प्रणाली असहज भएकाले किसानलाई सास्ती भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । ‘मल ढुवानीमा निषधाज्ञाको प्रभाव परेकाले नै यति बेला वितरण सहज हुन नसकेको हो । असारदेखि निषेधाज्ञा खुकुलो भए वितरण सहज हुन सक्छ,’ उनले भने ।

असार शुरू हुनै लाग्दा देशैभरका किसानहरू रोपाइँ शुरू गर्ने तयारीमा छन् । तर, उनीहरूले धानलाई आवश्यक पर्ने मल पाउन सकेका छैनन् । किसानहरू मलका लागि घाममा दिनभरि लामो लाइन बस्दा समेत रित्तो हात घर फर्किन बाध्य छन् ।

सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, सर्लाही, चितवन, बाँके बर्दियालगायत जिल्लामा किसानले मल नपाएको गुनासो बढिरहेको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादव असार शुरू भएपछि ६ बिगाहा जग्गामा धान रोप्ने तयारीमा छन् । उनलाई युरिया, डीएपी र पोटास गरी करीब २० बोरा मल आवश्यक पर्छ । तर, उनले अहिलेसम्म एक बोरा मल पनि पाउन सकेका छैनन् ।

दिनभरि घाममा लाइन बसेर किसान रित्तै हात घर फर्किन बाध्य छन् । ‘यहाँका सहकारीसँग पनि पर्याप्त मल छैन हामीलाई कसरी दिन्छन्, काठमाडौंमा सरकारसँग मल भएर मात्र के गर्ने त्यो मल हामीसम्म पुग्ने वातावरण बनाउनु जरुरी छ,’ उनले भने ।

चैतेधान भित्र्याउने र वर्षेधान रोप्ने तयारीमा रहेका मोरङका किसानले पनि मलका लागि धेरै नै समस्या भोग्नु परेको बताएका छन् । मोरङ कानेपोखरीका अगुवा किसान मानबहादुर मगरले पनि अहिलेसम्म आफूले मल नपाएको गुनासो सुनाए ।

सहकारीहरूले कृषि सामग्री र साल्टले वितरण गर्ने गरेको मल उपलब्ध गराउन नसकेपछि बाली भित्र्याउने र रोप्ने तयारीको चटारोका बीच पनि किसानहरू मल किन्नकै लागि कोरोनाको जोखिम मोलेर भारतीय सीमावर्ती बजारसम्म जान बाध्य भएको उनले बताए ।

चितवन जिल्लाको अवस्था भने केही फरक पाइएको छ । डीएपीको सहज आपूर्ति भए पनि यहाँका किसानहरूले युरिया मलको अभाव झेल्नुपरेको छ । मागभन्दा आपूर्ति आधा मात्र भएको बताइएको छ । मलको आपूर्ति यो वर्ष केही सहज भएको देखिए पनि मागभन्दा आधा मात्र मलको आपूर्ति हुने गरेको बताउँछन् कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकाल ।

‘सबै स्थानमा सन्तुलित ढंगले मल वितरण भएको छ भन्ने त छैन,’ ढकालले भने, ‘तर, स्थानीय तहको सिफारिशको आधारमा मल वितरण हुने भएकाले वितरण प्रणाली केही प्रभावित भएको छ ।’

‘मलको अभावभन्दा पनि वितरण र व्यवस्थापन चुस्त र दुरुस्त हुनुप¥यो उनले भने, पहुँच हुनेले बढी लाभ लिएको र पहुँच नहुनेले पाएका छैनन् ।’ याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *