चितवनमा मापदण्डमा नपरेकाहरुको खोप लगाउन दबाब

चितवन । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा मंगलबार र बुधबार गरेर ११ हजार जनालाई खोप लगाइँदै छ ।

जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन प¥यो’ भन्दै दबाव दिन थालेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई पनि खोप लगाउन सम्भावना नै नरहेको बताए । उनले भने, “थेग्नै नसक्ने गरी दबाव आएको छ ।”

उनले सरकारले निश्चित उमेर समूह र सङ्ख्या तोकेर निश्चित खोप मात्रै पठाएकाले तोकिएकाबाहेक कसैलाई पनि खोप लगाउन नसकिने बताए । अतिरिक्त खोप नभएकाले अन्यलाई लगाउन सक्ने सम्भावना नरहेको उनको भनाइ छ । यसअघि खोप लगाउँदा लक्षित समूहकाले खोप लगाउन अस्वीकार गरेको ठाउँमा अन्यले लगाएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल नामक खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामै खोपको व्यवस्था गरिएको छ । कतिपय वडाहरू जोडेर खोप केन्द्र तोकिएको छ ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी सबैतिरबाट खोप लगाइदिन दबाव आएको बताउँछन् । उनले भने,“चिनेका र अत्यावश्यकबाहेक कसैको पनि फोन उठाउन सकेको छैन ।”

उनले आआफ्नो वडाको खोप केन्द्रमा नै गएर खोप लगाउनसमेत आग्रह गरे । उनले भने, “एउटा वडाको व्यक्ति अर्काे वडामा जाँदा खोप व्यवस्थापनमा समस्या पर्छ ।”

नेपाल सरकारले जारी गरेका नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, लाइसेन्स जस्ता कुनै पनि परिचयपत्रका आधारमा खोप लगाइने उनले बताए । कुनै पनि परिचयपत्र नभएकाका लागि भने सम्बन्धित वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएको छ ।

यस्तै भेरोसिलको पहिलो डोज लगाएर दोस्रो डोज नलगाएकाहरूले पहिलो खोप लगाएको कार्ड लिएर आएमा भने दोस्रो डोज खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि काठमाडौँसहित केही जिल्लामा भेरोसिलको पहिलो डोज लगाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जोखिममा रहेका समूहका लागि खोपको माग गरेर पत्राचार गरिएको भन्दै अहिले लक्षित समूहबाहेक अन्यलाई खोप लगाउन नसकिने बताए ।

उनले खोप आए लगत्तै लक्षित र जोखिममा परेकाहरूलाई क्रमशः खोप लगाइने भएकाले यस अभियानमा सहयोग गरिदिन अनुरोध गरेका छन् । प्रत्येक खोप केन्द्रमा नेपाल प्रहरीले सुरक्षा दिने छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने छ ।

कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । खोप केन्द्रमा छुटपुट भएकालाई जेठ २७ गते एउटा पालिकामा एक ठाउँमा खोप दिने व्यवस्था रहेको छ ।जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार जनताले पहिलो खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *