काठमाडाैँ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो ।
सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिए । खोपको सुरक्षित एवं उचित व्यवस्थापन महत्त्वपूर्ण हुने भएकाले भण्डारण गृह तयार पारिएको जानकारी उनले दिए ।
उनका अनुसार केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा निर्माण गरिएको हो ।
प्रमुख पौडेलले भने, “हरेक खोप केन्द्रमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिएको छ; जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ । ‘वाचिङ कुलर’मै खोप भण्डारण गरिन्छ ।”
तत्काल कोरोनाविरुद्धका खोप भण्डारण गरिए पनि पछि सबै प्रकारका खोपको भण्डारण गरिनेछ । पछि सबै प्रकारका खोप थप सहज रूपमा उपलब्ध गराइने जानकारी उनले दिए ।
पौडेलका अनुसार एउटा केन्द्रको एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल नौ करोड ६० लाख रुपियाँमा निर्माण कार्य सम्पन्न भएको हो । सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने योजना छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप व्यवस्थापन महाशाखाका प्रमुख भीमसेन टिङ्करीले निर्माण सम्पन्न भएको खोप भण्डारण केन्द्रहरूमा छिट्टै नै थप प्राविधिक तयारी पूरा गरी खोप भण्डारणको व्यवस्थापन गरिने जानकारी दिएकाे समाचार गाेरखापत्र दैनिकमा समाचार छ ।
