USAID

चिनियाँ अनुदानमा प्राप्त कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि

काठमाडाैँ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आज मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए ।

नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ  । डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताए ।

हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

उनले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरे । डा. गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।

काठमाडाै महानगरमा यस्ताे छ खोपको तयारी

काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरेको छ ।

महानगरपालिकाले तय गरेका खोप केन्द्रहरूबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने गरी तयारी गरिएको हो ।

ती केन्द्रमा जेठ २५ देखि २९ सम्म सञ्चालन हुने खोप कार्यक्रममा जेठको क्रमशः २५ गते ६४ वर्ष, २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य विभागले जनाएको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *