लाङ्टाङमा स्थापित स्वास्थ्यचौकीको व्यवस्थापकीय कार्यमा सुधार

रसुवा । स्थानीय बासिन्दा एवं पर्यटकको उपचार सेवा सहज पार्ने उद्देश्यले रसुवाको लाङ्टाङमा स्थापित स्वास्थ्यचौकीको व्यवस्थापकीय कार्यमा सुधार आएको छ । सदरमुकाम धुञ्चेबाट दुई दिनको पैदल यात्रामा पुगिने पर्यटकीय क्षेत्रको हिमाली स्वास्थ्य चौकीमा आवश्यक औषधिका साथै स्थानीयस्तरमै श्वासप्रश्वासको समस्या न्यूनीकरण गराउने उपकरणको व्यवस्थापनले विगत वर्षको तुलनामा लाङ्टाङ स्वास्थ्य चौकीको प्राथमिक उपचार सेवा प्रभावकारी बन्दै गएको हो ।

विसं २०७२ को विनाशकारी भूकम्पले पूर्ण क्षति बनाएको लाङ्टाङ स्वास्थ्यचौकीको पुनः स्थापनापश्चात् नयाँ भवन निर्माण, आवश्यक मात्राको औषधि, मधुमेह एवं शरीरको अक्सिजन मात्रा परीक्षण र समस्या परेका बखत अक्सिजन दिने उपकारण व्यवस्थापनका साथै माइक्रो हाइड्रोद्वारा स्थानीयस्तरमै उत्पादित विद्युत्को सुविधाले प्राथमिक उपचारको सेवा दिन सहजता आएको स्वास्थ्य केन्द्र प्रमुख खम्बु बोहोराले बताए ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको लाङ्टाङ गाउँ समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्ने र चिसोका कारण बढी मात्रामा रूघाखोकी, टाउको दुखाई, शरीर चिलाउने एवं न्यूनरूपमा अक्सिजन मात्रा कम भएका बिरामीहरू आउने गरेका छन् ।

अहिले लाङ्टाङ स्वास्थ्य चौकीमा अकुपञ्चर, मधुमेह, अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटरका उपकरणका साथै चिसो स्थानमा तातो वाफ लिने उपकरणसमेत व्यवस्थापन भएको स्वास्थ्य चौकी प्रमुख बोहोराले जानकारी दिएका छन् । प्राप्त कन्सन्ट्रेटर एक थान गोसाइँकुण्ड गाउँपालिकाबाट अनुदान एवं चार थान माउण्टेन हट नेपालका डा अबन गौतममार्फत सहयोग प्राप्त भएको बताइएको छ ।

भौगोलिक विकटताका कारण स्थानीय बासिन्दा र पर्यटक दुवैको हितका लागि गोसाइँकुण्ड–४ का वडा सदस्य फिन्जो लोप्चन लामा एवं रसुवा ट्रेक एण्ड ट्राभलका प्रबन्धक गगन न्यौपानेको पहलमा अक्सिजन कन्सन्ट्रेटर हेलिकोप्टरद्वारा लाङ्टाङ पुर्याइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

ढुवानीका लागि सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी सांसद मोहन आचार्यले व्यवस्थापन गर्नुभएको गोसाइँकुण्ड–४ को कार्यालयले जनाएको छ । उपकरण सञ्चालन गराउने प्रशिक्षणसमेतका ज्ञान दिन डा गौतम सामानसहित आइतबार लाङ्टाङ पुगेका थिए ।

लाङ्टाङ, यालापिक, गञ्जला क्षेत्रको अल्का हिमशृङ्खला एवं क्याङ्जेनको मानव बस्ती नजिक रहेको हिमनदीसमेतको दृश्यावलोकनका लागि घुम्न आउने विदेशी पर्यटकले समेत यात्राका क्रममा स्वास्थ्यसम्बन्धी परामर्श लिने गरेका छन् ।

स्वास्थ्य सहायकसहित छ जनाको दरबन्दी भए पनि बसोबास गर्ने स्थानीय बासिन्दाको जनसङ्ख्याको कमीले गर्दा हाल तीन जनाले मात्र पर्याप्त सेवा दिइरहेको बताइएको छ ।

लाङ्टाङको जनसङ्ख्या ५२२ रहेको जानकारी दिँदै गोसाइँकुण्ड–४ का वडाध्यक्ष खुब्बा तामाङले एउटा पनि स्वास्थ्य कर्मचारी नबस्ने लाङ्टाङ क्षेत्रमा तीन वर्षयता खटिएका स्वास्थ्यकर्मीले नियमित सेवा दिइरहेको जानकारी दिए । गम्भीर अवस्थाका बिरामीको हकमा भने हेलिकोप्टर चार्टर गरी काठमाडौँ लानुपर्ने अवस्था भने यथावतै रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *