कास्कीको एउटा भैंसी फार्म दूधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा

हरि बास्तोला, गण्डकी । कास्कीको एउटा भैंसी फार्म दूधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा जुटेको छ । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि फार्मले दूध उत्पादनसँगै गोठमा जन्मिएका पाडापाडी हुर्काउने र उन्नत जातको राँगो दिएर माहु भैँसीलाई प्रजनन गराउँदै नस्लसुधार अभियानमा जोड दिएको हो ।

उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ स्थानीय तीन व्यक्तिको लगानीमा २०७३ सालदेखि शुरु गरिएको फार्ममा अहिले जन्मेका १२ पाडी छन् भने एक वर्षको अवधिमा एक लाख मूल्य बराबरका पाँच पाडा बिक्री गरेको फार्मका सञ्चालक मोहनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गोठमा जन्मेका पाडापाडीलाई शुरुमा साढे एक थुन दूध दिने गरिएको छ । पछि बिस्तारै दाना र घाँस खान शुरु गरेपछि दूध घटाउने गरिएको जानकारी दिँदै उनले गोठमा जन्मेको एउटा पाडी ब्याउने समेत भएको र अन्य पनि हुर्कंदै गरेका बताए ।

“भारतबाट खरीद गरेर ल्याएका भैँसी दूध दिने समयसम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा कृषकलाई त क्षणिक फाइदा होला तर राज्यको ठूलो रकम विदेशिने गरेको छ”,उनले भने, “त्यस्तो विदेशिने रकम रोक्नका लागि पाडापाडी हुर्काउने र नयाँ माहु भैँसीलाई उन्नत जातको राँगो दिएर नस्ल सुधार गर्नु अपरिहार्य छ ।”

गोठमा अहिले १२ पाडीसहित १६ ब्याउने र १२ दुहुना भैँसी रहेको जानकारी दिँदै उनले दैनिक ३० लिटर दूध उत्पादन हुने बताए । उनले प्रतिलिटर १४० रुपैयाँमा बिक्री गर्दा मासिक एक लाख २६ हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिए । उन्नत नस्ल उत्पादनका लागि पशु ज्ञान केन्द्रले राँगो खरीदका लागि ५० हजार अनुदान दिएको छ । कूल ६० हजारमा खरीद गरेको राँगाको तौल ८०० किलो रहेको छ । महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि ५० हजार अनुदान प्राप्त गरेको छ ।

“फार्ममा उत्पादित दूध बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका दूध खरीद गर्न फार्ममै आउँछन्”, कार्कीले भने, “दूधमा गोठदेखि ओँठसम्म शुद्धतामा ध्यान दिएका छौँ, फार्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत ‘फ्याट’ हुन्छ ।” कतिपय दूध त कर्मचारीमार्पmत छिमेकका घरघरमा पुर्याउँदै आएको उनको भनाइ छ ।

फार्ममा रहेको एउटा भैँसीले दैनिक १५ लिटर दूध दिने गरेको छ । गोठमा ५० माउ भैँसी पुर्याएर दूध बिक्रीबाट मात्र मासिक दुई लाख र गोठमा वार्षिक २५ माहु भैँसी उत्पादन गरेर ३० लाखभन्दा बढी आम्दानी गर्नाका साथै जन्मेका २५ पाडा बिक्रीबाट समेत छ देखि सात लाख आम्दानी गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फार्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा बाक्लोपनको मात्रा बढी हुनाका साथै भँैसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । फार्मका लागि आवश्यक दानसमेत उत्पादन गरिँदै आएको छ ।

मौसमी तथा बेमौसमी तरकारीबाट राम्रो आम्दानी

भाडामा लिएको १६ रोपनी जग्गामा सञ्चालित फार्ममा पशुपालनसँगै प्लाष्टिकको टनेलभित्र यतिखेर लटरम्म गोलभेँडा फलेको छ । चैत महिनामा लगाइएको सिर्जना जातको गोलभेँडाका बोटले उत्पादन दिन शुरु गरेको कृषक हरिबहादुर कार्की बताउँछन् ।

अहिले दैनिक ५० देखि ६० किलो उत्पादन हुने गरेको छ । बजारमा होलसेल मूल्य ५० देखि ५५ रुपैयाँ रहने गरेको छ । टनेलभित्र मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उनको भनाइ छ ।

उनका अनुसार नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) तरकारी सुपरजोनको १३ लाख ७५ हजार अनुदान र फार्मका तर्फबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक, फार्मले निर्माण गरेको टनेलभित्र लगाइएको काँक्रोबाट एक याममा ८० हजार, सागबाट ३० हजार र गोलभेंडाबाट वार्षिक  दुई लाख, तथा अन्य सिमी, धनियाँ लगायतबाट समेत राम्रै राम्दानी हुने गरेको छ ।

पशुपालन तथा तरकारी फार्ममा हालसम्म एक करोड ५० लाख लगानी भइसकेको छ । फार्ममा हाल आठजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूको मासिक पारिश्रमिकमा मात्र एक लाख २० हजार खर्च हुने गरेको छ । उनीहरूका लागि खाना र बासको समेत फार्मले छुट्टै व्यवस्था गर्दै आएको छ ।

पशुपालन एवम् तरकारी खेतीका लागि अत्यावश्यक पानीका लागि २२ लाखको लागतमा डिप बोरिङ गरेर पानीको व्यवस्था गर्दै आएको फार्मले सहुलियत ब्याजदरमा बैकबाट ३५ लाख ऋण लिएको छ ।

भैँसीको मल तरकारीलाई र तरकारीबाट उत्पादन भएको घाँस भैँसीलाई दानाका रुपमा प्रयोग गरेर फार्मले दोहोरो फाइदा लिँदै आएको छ । भैँसीको आलो गोबरलाई विभिन्न प्रविधि अपनाएर बनेको कम्पोष्ट हाइटेकभित्र लगाउने सबै खाले तरकारी बारीमा प्रयोग गरिएका कारण उत्पादित जैविक तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

विश्वव्यापीरुपमा फैलिएको  कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बाहिरबाट तरकारी नआएपछि यहाँको उत्पादनले बजार पाएको कृषक बताउँछन् । कृषिमा युवा शक्तिलाई लगाउन सरकारीस्तरबाट गुणस्तरीय बीउ, मल, दानासहित बजारीकरणको समेत उचित व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *