काठमाडाैँ । कैलालीको टीकापुर नगरपालिका–९ का तपेन्द्र साउद फागुनमा भारतको छत्तिसगढबाट घर फर्किएका थिए। त्यति बेला भारतमा दैनिक साढे ३ लाखमा कोरोना पुष्टि भइरहेको थियो । ‘भारतभन्दा आफ्नै देश सुरिक्षत लाग्यो । त्यहाँ सबै होटल, कम्पनी, उद्योग बन्द भए अनि म घर आएँ’, साउदले भने ।
तर, उनी तीन महिनामै फेरि भारत पसेका छन् । ‘तीन महिना घरमै बसेँ । कामधाम केही छैन । नुन, तेलको खर्च निकाल्ने रोजगार पनि छैन’, गौरीफन्टा नाका भएर छत्तिसगढ हिँडेका उनले भने, ‘अब मरे भारतमै मरिन्छ भनेर हिँडेको ।’
टीकापुरमा उनको परिवारमा ७ सदस्य छन् । परिवारमा कमाउने उनी एक्ला रहेछन् । ६ कट्ठा जग्गा छ । ‘पाँच कट्ठाको उब्जनीले तीन महिना पनि पुग्दैन । भारत नगएर के गर्नु सर ?’, उनले भने ।
छत्तिसगढमा उनी साहूको घरमा खाना पकाउने काम गर्छन् । ‘सेठले बोलायो । कोरोना कम भइसक्यो आइजा भन्यो । मलाई पनि कति बेला जाऊँ भन्ने भइरहेको थियो’, उनले भने, ‘किनभने खर्चपर्च केही थिएन । अब कोरोनाले जे–जे होला, देखा आऐगा ।’
टीकापुरकै नरबहादुर साउद पनि शुक्रबार उनीसँगै छत्तिसगढ हिँडेका छन् । नरबहादुर त्यहाँ मोःमोः बनाएर बिक्री गर्छन् । ‘दिनमा ५ हजारदेखि १० हजारको बिक्री हुन्छ । त्यसबाट दिनमा डेढ–२ हजार त बचिहाल्छ’, उनले भने, ‘फागुनमा लकडाउन भएकाले घर आएँ । भेटघाट हुन्छ भनेर पनि आएको । अब छत्तिसगढमा लकडाउन हटिसक्यो । त्यै भएर जान लागेको।’ नरबहादुरको १० कट्ठा जग्गा छ । ‘८ जनाको परिवार छ । त्यो १० कट्ठाले ६ महिना अन्न मात्रै हुने भयो । बाँकी ६ महिनाको अन्न, छोराछोरीको पढाइ खर्च, श्रीमती, बाआमाको खर्च कहाँबाट ल्याउने ?’, उनले भने, ‘नेपालका नेता राजनीति मात्रै गर्छन् । जनताका लागि रोजगार केही होइनन् दिने ? के गर्नु देशको माया लागे पनि ! मायाले त पेट भरिन्न।’
सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन् । त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन् । नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो । ‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ। कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने।
जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ । जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो । १ हजार ६ सय ५४ जना मात्रै भारत गएकाे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।