नेपाल-चीन कार्यकारी परिषद्ले दुई सरकारी अस्पताललाई दियाे ५० लाखको स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाल-चीन कार्यकारी परिषदले पछिल्लो पटक उपत्यकाका दुई सरकारी अस्पताललाई झण्डै ५० लाख बराबरको अति आवश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । यसअघि दुई चरणमा परिषद्ले देशका विभिन्न अस्पताललाई ११ करोड रुपियाँभन्दा बढीका स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ ।

बाँसवारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रमा रहेका कोभिड युनिटलाई तेस्रो चरणको सहयाेग अभियानअन्तर्गत् अक्सिजन कन्सन्ट्रेटर, पावर एअर प्युरिफायर रेस्पिरेटर (पीएपीआर), पीपीई, मास्क, सर्जिकल गाउन, पञ्जालगायतका सामग्री उपलब्ध गराइएको परिषद्ले शुक्रबार जनाएको हो ।

गंगालाल अस्पतालले पहिलो पटक स्वास्थ्यकर्मीले व्यक्तिगतरुपमा लगाउन मिल्ने श्वासप्रश्वासकाे हावा शुद्धिकरण उपकरण पीएपीआर मेसिन सहयोग पाएको जनाइएको छ । बेट्रीबाट चल्ने फिल्टरसहितको याे उपकरण लगाएका चिकित्सक र स्वास्थ्यकर्मी बिरामीको साथमा लामो समय रहनसक्ने भएकोले उपचारमा ठूलो राहत मिल्ने अस्पतालका एनेस्थेसिया विभागका प्रमुख डा. आशिष गोविन्द अमात्यले बताए । परिषदले गंगालाल अस्पतालकै विशेष अनुरोधमा ११ वटा ती उपकरण उपलब्ध गराएको हो ।

गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सामान्य अवस्थाका कोभिडका बिरामीको मृत्युदर २ प्रतिशत हुँदा संक्रमित मुटुरोगीको मृत्युदर ६ गुना बढी हुने भएकोले प्राप्त स्वास्थ्य सामग्रीले संक्रमित मुटुरोगीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको आत्माबल बढाउँदै उचारमा अझ बढी खट्न सहयोग पुग्ने बताए ।

परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले कोरोना महामारी सुरु भएयता नेपाल अधिराज्यभरका करिब २० सरकारी अस्पताललाई ११ करोड रुपियाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए । स्वास्थ्य सामग्री सहयोगको अभियानलाई काठमाडौँमा मात्रै सिमित गरेका नगरेको उल्लेख गर्दै उनले कोरोना महामारीबीच तीन चरणमा भद्रपुरदेखि धनगढीसम्मका अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको बताए ।

अध्यक्ष भट्टराईले भने, ‘प्रदेश १ सरकारलाई मात्रै भेन्टिलेटर, पीसीआर मेसिन, मोवाइल एक्स्रे मेसिन, मोबाइल अल्ट्रासाउण्ड मेसिनलगायतकासाढे सात करोड रुपियाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराए छौँ ।’

अस्पतालका कार्यकारि निर्देशक चन्दमणि अधिकारीले कोरोना संक्रमित मुटु रोगीको मृत्युदर अन्यको तुलनामा पाँच गुनाभन्दा बढी रहेको भन्दै जोखिम समूहमा वर्गिकरण गरिएका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ सेवामा समर्पित हुन परिषद्ले उपलब्ध गराएको सामग्रीले ठूलो सहयोग पुग्ने बताए ।

चीनको स्वायत्त प्रदेश तिब्बतस्थित अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघले नेपालस्थित समकक्षी मैत्री संस्था नेपालचीन कार्यकारी परिषद्लाई सबै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सन् २००३ मा स्थापित परिषद्ले नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आइरहेको छ । गत वर्ष चीनमा कोरोना महामारी चरम सीमामा पुगेको बेला परिषद्ले सिछुवान र युनान प्रान्तीय सरकारलाई मास्क, पञ्जा, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको थियो ।

परिषद्ले कोरोना महामारीको तेस्रो चरणको तयारीका लागि बालबालिकाले लगाउन मिल्ने मास्क मगाएर कान्ति अस्पताललाई सहयाेगस्वरूप उपलब्ध गराउने तयारी गरेको पनि अध्यक्ष भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *