डेनमार्कद्वारा केन्यालाई अस्ट्राजेनिकाको तीन लाख ५८ हजार डोज खोप प्रदान

डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ । डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ ।

डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताएका छन् । उनले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताए । उक्त खोप राष्ट्रसंघीय बालकोष (युनिसेफ) मार्फत ढुवानी गरिने छ ।

मार्चमा डेनमार्कले अस्ट्राजेनिका खोप आफ्ना नागरिकलाई नलगाउने घोषणा गरेको थियो । खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिएको जनाउँदै युरोपमै अस्ट्राजेनिका खोप नलगाउने घोषणा गर्ने डेनमार्क पहिलो राष्ट्र हो । त्यसपछि नर्वे र अन्य युरोपेली राष्ट्रले पनि यस्तै निर्णय गरेका थिए ।

तर युरोपेली औषधि नियामक निकाय युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएपछि युरोपका केही देशले पुनः खोप लगाउन थालेका थिए । तर यो खोप ५० वा ६० वर्षभन्दा माथिको उमेर समूहलाई मात्र दिइएको थियो । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को खोप अफ्रिकी मुलुकहरुमा लगभग पूर्ण रुपले रोकिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनका अनुसार गत दुई साताको अवधिमा अफ्रिकी मुलुकहरुमा कोभिडबाट संक्रमितको संख्या २० प्रतिशतले वृद्धि भएको छ ।

दक्षिण अफ्रिकामा ६० प्रतिशतभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यहाँ एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनका खोप लगाउने अभियान पनि संकटमा परेको छ । दश लाखभन्दा बढी जोन्सनका खोप अहिले दक्षिण अफ्रिकाको औषधि निर्माता कम्पनीका प्लान्टमा थन्किएका छन् । खासगरी अफ्रिकामा रहेको अमेरिकी प्लान्टमा खराबी आएपछि खोपको प्रयोगमा समस्या आएको हो ।

अफ्रिकी संक्रामक रोग नियन्त्रण केन्द्र (सिडीसी) का प्रमुखले अमेरिकी खाद्य तथा औषधि प्रशासनले प्लान्टमा आएको समस्याका बारेमा चाँडै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् । डब्लुएचओका वरिष्ठ खोप विज्ञ डा केट ओब्रायनले विश्वमै खोपको आपूर्तिमा समस्या भइरहेको अवस्थामा विकसित मुलुकहरुले बालबालिकालाई पनि खोप लगाउनु प्राथमिकताको विषय नभएको बताए ।

उनले विश्व स्वास्थ्य संगठनका दृष्टिमा बालबालिकालाई अहिल्यै खोप लगाउनु प्राथमिकताको विषय नभएको बताए । क्यानडा, संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरुले १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन स्वीकृत गरेका छन् । ओब्रायनले वयस्क व्यक्तिलाई खोप दिइसकेको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु अघि खोप लगाउनु आवश्यक नरहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *