६ सदस्यले छाडे ठाकुरको साथ

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन् । ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ ।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन् । यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए । उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन ।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए । यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे । पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन् ।

कार्यकारिणी समितिका ६ सदस्यले ठाकुरलाई छाडेपछि समितिमा उपेन्द्र समूह प्रष्ट बहुमतमा देखिएको छ । उपेन्द्र समूहका नेता महेन्द्रले आफूहरूसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको बताए । ‘हामीसँग अहिले कार्यकारिणी समितिका ३१ जना सदस्य हुनुहुन्छ । यो भनेको बहुमतभन्दा पनि बढी हो’, उनले भने । उपेन्द्र समूहका अर्का नेता विजय यादवले केही दिनमै यो संख्या अरू थपिने बताए । ‘अहिले हामीसँग ३१ सदस्य हुनुहुन्छ। यो संख्या अझै बढ्दै जान्छ’, उनले भने ।

उपेन्द्र समूहले ठाकुर पक्षलाई पार्टी फुटाउन ४० प्रतिशत सदस्य संख्या पुग्न नदिने रणनीति बनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ। जसपाले ५१ सदस्यीय कार्यकारिणी र ८ सय सदस्यीय केन्द्रीय समिति बनाएको छ।

८ सय सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी खेमाबाट ४ सय र महन्थ ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा खेमाबाट ४ सय राख्ने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले तत्कालीन समाजवादीका ४ सय र तत्कालीन राजपाका ३ सय ७९ जना छन् । तत्कालीन राजपा खेमाबाट २१ जनाको नाम दिन बाँकी छ । यी दुई पार्टी मिलेर गत वर्षको वैशाखमा जसपा बनेको थियो । जसपा विधानमा कार्यकारिणी समितिलाई पार्टीको निर्णय गर्ने अधिकार दिइएको छ ।

कार्यकारिणीको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । कार्यकारिणीको बहुमतबाट निर्णय गर्ने व्यवस्था विधानमा छ । यसअघि उपेन्द्र पक्षका ५ सांसद कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका छन । सांसदहरू उमाशंकर अरगरैया, विमल श्रीवास्तव, रुहीनाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ उपेन्द्रलाई छाडेर ठाकुर पक्षमा गएका हुन् । कित्ता परिवर्तन गरेका यी सांसद कार्यकारिणी समिति सदस्य नभएकाे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *