काठमाडाैँ । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन् । ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन् ।
‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन् । उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो । साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधबारको एक भर्चुअल बैठकमा भने । उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताए । ‘हामी धेरै अघि बढिसकेका छौं, ओलीको चालबाजीमा फस्नेवाला छैनौं । ओलीले एकपटक होइन, धेरै पटक धोका दिएका छन् ।
यही अवस्थामा धेरै संवाद गर्नुको कुनै अर्थ छैन । जेजे गर्नु छ तीन दिनभित्र टुंग्याउन म साथीहरूलाई आग्रह गर्छु’, नेपालले भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने । ओली समूहले गरेको कारबाहीको नाटक सबैभन्दा घातक भएको नेता नेपालको भनाइ थियो । ‘संवाद गर्छु भन्ने कारबाही गर्ने, संवाद गर्दागर्दै संसद् विघटन गरेर झन् लोकतान्त्रिक मूल्य र संविधानमाथि नै प्रहार गर्ने, यस्तो पनि संवाद गर्ने तरीका हो’, उनले भने ।
आफू पक्षधर जनसंगठनको भर्चुअल बैठकमा नेपालले पाँचवटा विषय उठान गरेका थिए । ओलीले सबैभन्दा पहिला संसद् विघटन गर्नु गल्ती भएको भन्दै आत्मआलोचना गर्नुपर्ने, पार्टीभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व असफल भएको स्वीकार गर्नुपर्ने, संवादका नाममा आलटाल गर्दै बस्न नहुने र नेताहरूबीच आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनले उठान गरेका विषय थिए । तेस्रो र चौथो पुस्ता आफ्नो पक्षमा रहेकाले पार्टी पुनर्गठनमा आत्मविश्वास बढेको भन्दै उनले अझै पनि ओली ‘फुटाऊ र राज गर’ भन्ने नीतिअनुसार चलेको टिप्पणी गरे ।
‘हिजो जुन कुरा आएको छ २०७२ जेठ २ मा फर्काउँछु भन्ने त्यो नक्कली कुरा हो । फर्काउने हो भने भटाभट फर्काए भइहाल्छ नि, किन यसो गर्छु भन्नुप¥यो ? नवौं महाधिवेशनको म्यान्डेटअनुसार अघि बढे पुग्छ । पार्टीलाई नीति र विधिमा चलाए हुन्छ । हाम्रा विषय ठूला थिएनन् तर ओलीले जे हर्कत गरे त्यो क्षमायोग्य छैन । उनले संसद् विघटन गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई नै धराशयी बनाए, संविधानको मर्यादा नै उल्लंघन गरे’, नेपालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने । बैठकमा नेपालले ओलीले देखाएको ‘ललीपप’ मा नअल्मलिने स्पष्ट पारेका थिए ।
नेपालले आइतबारदेखि निरन्तर भर्चुअल बैठकमार्फत जनवर्गीय संगठनका नेताहरूसँग सुझाव संकलन गरिरहेका छन् । बुधबार पनि नेपालले तीन सयभन्दा बढी नेता कार्यकर्तासँग संवाद गरेका थिए । उनले आन्दोलनको क्रममा धेरै नेताहरूको आउनेजाने क्रम भइरहन्छ, यहाँ यस्तो वा त्यस्तो भनेर आत्तिने काम छैन भन्दै बैठकमा सहभागीलाई नआत्तिन आग्रह गरेका थिए । सहभागीले ओलीको प्रलोभनमा नफसी नयाँ दल बनाउन सुझाव दिएका थिए । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि ओली अप्ठेरोमा परेको र त्यही कारण विभिन्न बहानाबाजी गरेको आशंका बैठकका सहभागीले व्यक्त गरेका थिए । बैठकमा अखिल नेपाल महिला संघ, अनेरास्ववियुलगायतका संगठन प्रमुखले धारणा व्यक्त गरेका थिए ।
यसै बीच विवाद सुल्झाउन सक्रिय नेताहरूले बुधबार पनि एकआपसमा संवाद गरेका छन्। नेपालले भने उनीहरूको सक्रियता व्यक्तिगत भेटघाट भएको बताएका थिए। बुधबार ईश्वर पोखरल र योगेश भट्टराईबीच एक घण्टा कुराकानी भएको थियो भने अन्य नेताहरूबीच पनि संवाद जारी छ । उता ओली पक्षले बुधबार बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित गरेको छ । ओली पक्षले पार्टी एकताका लागि भरपुर प्रयास गर्ने भन्दै बुधबारको स्थायी कमिटी बैठक बिहीबार सारेको समाचार नागरिक दैनिकमा छापिएकाे छ ।