काठमाडौँ । सरकारले उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेकाे छ । काठमाडाैँ, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले उक्त निर्णय गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।
आजको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गते मध्यरातिसम्म थप्ने निर्णय गरेकाे भन्दै प्रजिअ भट्टराईले किराना पसल, डिपार्टमेन्टल स्टोर, स्टेशनरी र किताव पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएकाे जानकारी दिए । त्यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइने पनि भट्टराईले बताए ।
उनका अनुसार निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिइने तर काम गर्दा मजदूर भित्रै बस्नु पर्नेछ । यसअघि एक सातादेखि खाद्यान्न पसल र निर्माण कार्यसञ्चालनमा समेत रोक लगाइएको थियो ।
यसअघिको अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ । बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।
बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा भाेलि २० गते मध्यराति सकिँदै थियाे ।