एजेन्सी। रियल म्याड्रिडको नयाँ प्रशिक्षकको रुपमा कार्लो एन्सेलोटी नियुक्त भएका छन् । बिहीबार जिनेदिन जिदानले मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा म्याड्रिडले मंगलबार एन्सेलोटीलाई भित्र्याएको हो ।
एन्सेलोटीले म्याड्रिडसँग ३ वर्षको सम्झौता गरेका छन् । उनी ६ वर्षपछि म्याड्रिड फर्किएका हुन् । यसअघि एन्सेलोटीले २०१३ देखि २०१५ सम्म म्याड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी समालेका थिए । उनले पहिलो सिजनमै म्याड्रिडलाई १० औं च्याम्पियन्स लिग जिताएका थिए । त्यहिबेला एन्सेलोटीको सहायकमा जिनेदिन जिदान रहेका थिए ।
दुई सिजनको बसाईमा एन्सेलोटीले म्याड्रिडबाट १ च्याम्पियन्स लिग, १ युरोपियन सुपर कप, १ फिफा क्लब विश्वकप र १ कोपा डेल रे जितेका थिए । यस्तै उनले केही रेकर्डपनि बनाएका थिए । २०१४ मा उनले ५१ जित हात पारेका थिए भने २०१४ सेप्टेम्बर देखि २०१५ जनवरीसम्म ८० गोल गर्दै लगातार २२ खेलमा जित हात पारेका थिए ।
पहिलो सिजनमा क्लबलाई ला डेसिमा जिताउदै दोस्रो सिजनमा विभिन्न रेकर्ड बनाएपनि च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएसँगै उनी बर्खास्तीमा परेका थिए । तरपनि एन्सेलोटीले समर्थक र ड्रेसिङ रुमबाट भने राम्रो सम्मान र माया कमाएका थिए ।