‘ब्ल्याक फंगस’ भएका कोरोना संक्रमितको वीर अस्पतालमा शल्यक्रियाः एउटा आँखाको दृष्टि गुम्यो, अर्काेको फर्किन सक्ने

काठमाडौं । कोरोना संक्रमणका कारण ब्ल्याक फंगस भएका एकजना बिरामीको वीर अस्पतालमा शल्यक्रिया गरिएको छ । सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणका कारण ब्ल्याक फंगसको समस्या देखिएपछि सोमबार उनको शल्यक्रिया गरिएको हो ।

वीर अस्पतालमा कोरोना संक्रमित बिरामीको ब्ल्याक फंगसको शल्यक्रिया भएको यो पहिलो पटक हो । वीर अस्पतालका नाक, कान, घाँटी सर्जन त्रिदीपबहादुर पन्थको नेतृत्वमा डा. बोनू गौडेल, डा. सदिन कायष्ठ, डा. आशिष गौतम, एनेस्थेसियाका चिकित्सकहरु डा. अनुजजंग कार्की, डा. उज्वल ठाकुर र डा. एलिस मिश्रा तथा नर्सहरु इश्वरी राजभण्डारी र सुवर्ण सिंह श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो ।

शल्यक्रियापछि थप उपचारका लागि कोभिड आइसीयूमा चिकित्सकको निगरानीमा राखेर उनको उपचार भइरहेको छ । चिकित्सकका अनुसार कोरोनाको संक्रमणपछि ब्ल्याक फंगसका कारण उनको दाहिने आँखाको दृष्टि गुमिसकेको र देब्रे आँखाको दृष्टि पनि कम भएको थियो । गुमिसकेको दाहिने आँखाको दृष्टि फर्कन भने नसक्ने चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार कोरोना संक्रमण भइ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा र रगतमा सुगरको मात्रा धेरै वृद्धि हुँदा ब्ल्याक फंगस हुने गरेको समाचार दृष्टिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *