लुम्बिनी प्रदेश उपनिर्वाचनः दुबै उम्मेदवार भगौडा, मन्त्री नै मतदानबाट बञ्चित

काठमाडौँ । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।

निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।

यसैगरी, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो ।

पाण्डे भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका उमेदवार हुन् । उनी एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उम्मेदवारको बनाएको हो ।

अन्तिम मतदाता नामावलीअनुसार प्रदेशसभामा ७९ सदस्य छन् । जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका दुई र राजमोका एक सांसद छन् ।

पार्टीको निर्णय नमानेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । हाल, लुम्बिनीमा मन्त्री रहेका उनीहरूले मतदान गर्न भने पाउनेछैनन् ।

निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठले ती सदस्यलाई पार्टीले कारबाही गरेको पत्र प्रदेश सभाले आयोगलाई पठाएको तर सर्वोच्च अदालतले कारबाही नगर्न दिएको आदेशको पत्र नपठाएकाले अन्तिम नामावलीमा नाम समावेश नभएको जानकारी दिए । यसैगरी, विभिन्न दलबाट कारबाहीमा परेका अन्य चार जना प्रदेश सभा सदस्यले पनि मतदान गर्न पाउनेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *