प्रज्जवल थापा । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका छन् । क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै जिदानले पद छाडेको जानकारी दिएको हो ।
२०१९ मा दोस्रो कार्यकालको लागि फर्किएका फेन्च प्रशिक्षक जिदानले गत सिजन ला लिगा र सुपर कोपा जिताएका थिए । यसअघि जिदानले २०१८ मा लगातार तीन च्याम्पियन्स लिग जिताएपछि क्लब छाडेका थिए ।
एथ्लेटिक बिल्बाओसँग सुपर कोपा र अल्कायानोसँग कोपा डेल रेमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि जिदानको भविष्यलाई लिएर जनवरीमै प्रश्न उठेको थियो । त्यसपछि भने रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्यो । लगातार मुख्य खेलाडीको चोट र कोरोना भाइरस संक्रमणका बाबजुद म्याड्रिडले च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म बाटो तय गरेको थियो भने ला लिगाको अन्तिम दिनसम्म उपाधि होडमा जिवित रहेको थियो । तर म्याड्रिड उपाधिविहिन हुँदै सिजनको अन्त्य गरेको हो ।
दुवै कार्यकालमा गरि जिदानले रियल म्याड्रिडबाट तीन च्याम्पियन्स लिग, दुई ला लिगा, दुई सुपर कोप, दुई सुपर कोपा र दुई फिफा क्लब विश्वकपसहित ११ उपाधि जितेका थिए ।
