चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई दश लाख डोज खोप अनुदानमा दिने घाेषणा

काठमाडौँ । चीनले नेपाललाई दश लाख मात्र खोप अनुदानमा दिने घाेषणा गरेकाे छ । चिनियाँ राष्ट्रपति सि चिन फिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको फोन वार्तामा दश लाख मात्रा खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।

फोनवार्तापछि नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले ट्विट गर्दै दुबै राष्ट्रपतिबीच भएको फोनवार्ताका क्रममा राष्ट्रपति सीले सो खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको जानकारी दिएकी छन् ।

करिब ४० मिनेट भएकाे फाेनवार्तामा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिएकी थिइन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार अहिले नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदको लागि सहजीकरण गरिदिन पनि राष्ट्रपति भण्डारीले अनुरोध गरेकी थिइन् ।

‘अहिले नेपाली जनताको जीवन बनाउनको लागि आवश्यक छ । अहिलेको अवस्थामा कोभिड–१९ खोपको नेपाललाई आवश्यक छ । नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’ राष्ट्रपति भण्डारीको संवादलाई उदृत गर्दै सञ्चार विज्ञ ढकालले भने ।

चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । फाेनवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकाे उपस्थिति रहेकाे थियाे ।

चीनले यसअघि ८ लाख मात्रा काेराेनाविरूद्धकाे खाेप भेराेसेल अनुदानमा दिइसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *