बेलारुसले विमान मोड्न लगाएर पक्राउ गरेको पत्रकारलाई यातना दिने आशङ्का

बेलारुसद्वारा विमानलाई आकाशबाटै जबरजस्ती मोड्न लगाएर पक्राउ गरिएका पत्रकारका बुवाले आफ्नो छोरालाई यातना दिने त्रास व्यक्त गरेका छन् । २६ वर्षीय रोमन प्रोटासेभिच ग्रीसबाट लिथुआनिया जाँदै गर्दा उनी सवार विमानलाई बेलारुसले बम भएको भन्दै उसको राजधानी मिन्स्कमा ओरालेको थियो ।

पाश्चात्य देशहरूले एक विपक्षी अभियानकर्मी पत्रकारलाई पक्राउ गर्न र्यानएअरको विमान अपहरण गरेको बेलारुसमाथि आरोप लगाएका छन् । दबावमा रेकर्ड गरिएको जस्तो देखिने एउटा भिडियो सार्वजनिक गरिएको छ जसमा प्रोटासेभिचले आफू स्वस्थ्य रहेको भनेका छन् र जसमा उनले बेलारुसले लगाएका अभियोगहरू स्वीकारेको जस्तो देखिन्छ ।

तर विपक्षी नेताहरू एवं अभियानकर्मीहरूले उक्त भिडियोको आलोचना गर्दै प्रोटासेभिचमाथि दबाव दिएर स्वीकार गर्न लगाइएको बताएका छन् । उनको निधारमा केही चोटजस्तो देखिन्छ। उनका मित्रहरूले उनलाई पक्राउपछि कुटपिट भइरहेको बताएका छन् ।

पत्रकारका पिता डिमित्री प्रोटासेभिचले बीबीसीसँग कुरा गर्दै उनका छोरालाई बेलारुसका अधिकारीहरूले कस्तो व्यवहार गर्लान् भन्नेबारे निकै डर लागेको बताए । २१औँ शताब्दीमा युरोपको मध्यमा यस्तो घटना हुन नपर्ने उनले बताए।

भिडियो सार्वजनिक गरिएलगत्तै युरोपेली युनियनले बेलारुसमाथि थप प्रतिबन्ध लगाउन सहमति जनाएको छ । उसले विमानसेवाहरूलाई बेलारुसको आकाश प्रयोग नगर्न भनेको छ तथा बेलारुसका विमानसेवाहरूलाई ईयूको क्षेत्रमा उड्न प्रतिबन्ध लगाएको छ ।

बेलारुस प्रजातान्त्रिक नभएसम्मका निम्ति उसका निम्ति भनेर छुट्ट्याएको साढे तीन अर्ब डलरको युरोपेली लगानी प्याकेज स्थगित गरिने युरोपेली आयोगकी प्रमुख उर्जुला फन डेर लयनले बताइन् । अमेरिकी राष्ट्रपति जो बाइडनले बेलारुसको कार्यको निन्दा गर्दै त्यहाँका अधिकारीहरूलाई जबाफदेही बनाउन अमेरिकी अधिकारीहरूलाई आदेश दिएका छन्।

बेलारुसले र्यानएअरको उक्त विमानमा बम रहेको भन्दै आकाशबाटै लडाकू विमानले घेरेर जबरजस्ती मिन्स्कमा ओरालेको थियो । विमानमा सवार १२६ यात्रुलाई बाहिर निकालेर प्रहरीले प्रोटासेभिचलाई पक्राउ गरेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार उनको महिला साथी सोफिया सापेगा सहित पक्राउ गरिँदा प्रोटासेभित्र निकै त्रसित देखिन्थे ।

बेलारुस एक मात्र युरोपेली देश हो जहाँ बन्दीहरूलाई मृत्युदण्ड दिइन्छ । अन्य तीन यात्रुहरू पनि विमानको अन्तिम गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा नपुगेको र्यानएअरका प्रमुखले बताएका छन् । उनले ती यात्रु बेलारुसी केजीबी एजेन्ट भएको हुनसक्ने बताए। त्यसको स्वतन्त्र पुष्टि भएको छैन । बेलारुसले चाहिँ प्यालेस्टिनी हमास विद्रोही समूहले विमानमा बम राखेको धम्की दिएकाले उसलाई मोड्न परेको बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *