काठमाडौं । नेपालले कोभिडविरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । सोमबार बिहान अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको खोप आपूर्तिमा नेपालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । जवाफमा सेर्मनले कोभिड महामारीविरुद्ध लड्न नेपालसहितका देश प्राथमिकतामा रहेको बताएकी थिइन् ।
अमेरिकाले जुन पहिलो साता कोभिड प्रभावित मुलुकहरुलाई आठ करोड डोज खोप दिने घोषणा गरेको छ । कुराकानीका क्रममा सेर्मनले कोभिड महामारीविरुद्ध तथा अन्य सामाजिक–आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिएकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा मन्त्री ज्ञवालीले अमेरिकालाई धन्यवाद समेत दिएका थिए । अमेरिकाले यसैसाता अक्सिजन सिलिन्डर, भेन्टिलेटर, कन्सनट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको थियो ।