USAID

ओलीविरुद्ध मोर्चाबन्दीः निर्वाचनसम्म कायम हुने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई आगामी निर्वाचनसम्म निरन्तरता दिने भएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्र र स्थानीय तहसम्म नै ओलीविरोधी मोर्चा बनिरहेको र यो पछिसम्म कायम रहने बताए । ‘अहिले हामी माथिदेखि तलसम्म नै कार्यगत एकताका पक्षमा छौं । प्रतिगमनविरुद्ध एकजुट भएका छौं, यसलाई निरन्तरता दिइनेछ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनीविरुद्ध विपक्षी दलहरूको मोर्चा बनेको थियो । अहिले त्यही मोर्चाले आगामी निर्वाचनसम्मै सहकार्य गरी अघि बढ्ने सहमति गरेको हो । मोर्चामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् ।

एक नेताका अनुसार वाग्मती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षलाई सहयोग गर्नु सहकार्यको संकेत हो । ‘अहिलेको अवस्थामा प्रतिगमनविरुद्धको मोर्चाबन्दी आवश्यक देखियो । वाग्मती प्रदेशबाट यसको संकेत गरेका छौं । अब कम्तीमा आगामी निर्वाचनसम्म यो मोर्चाबन्दी कायम रहन्छ’, ती नेताले भने । उनका अनुसार सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने क्रममै यो विषयमा छलफल भएको र माथिदेखि तलसम्म सहकार्य गर्ने सहमति भएको छ । सर्वोच्च अदालतको फैसला आएपछि एउटा कार्यविधि बनाएर अघि बढ्ने बताइएको छ ।

विपक्षी दलहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दर्ता गर्न आइतबार आफ्ना सांसदको हस्ताक्षर संकलन गरेका छन् । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २१ र जनता समाजवादी पार्टीका १३ सांसदको हस्ताक्षर जुटिसकेको उनीहरूको दाबी छ । सदनमा वैकल्पिक सरकार निर्माण हुने अवस्था रहेसम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक प्रावधानमा टेकेर उनीहरू ओलीको कदमविरुद्ध सर्वोच्च अदालत जान लागेका हुन् । रिट निवेदनका लागि वैकल्पिक सरकार निर्माणमा निर्णायक रहेको एमाले नेपाल समूहका २१ सांसदको हस्ताक्षर संकलन र प्रमाणीकरण भइसकेको स्रोतले बताएको समाचार नागरिक दैनिकमा समाचार छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *