दुर्गाप्रसाद गौतम ।
समाज उद्विकासको प्रारम्भिक चरणदेखि नै समूहगत मानवीय चाहना र भावनालाई कदर गर्दै समग्र मानव जातिको भलाईलाई वृद्धि गर्दै आफ्नो समाज तथा राज्यलाई अरु भन्दा उन्नत र विकसित बनाउने सिलसिलामा राजनीतिक विचारधाराको जन्म भएको हो । राजनैतिक दृष्टिकोण वा विचारधाराको प्रादुर्भावसँगै विभिन्न राजनैतिक प्रणालीहरुको जन्म र विकास हुँदै गयो र यसैमा अभ्यस्त हुँदै गयो । यसरी अलम्वन गरिएका प्रणालीहरुले आम मानिसहरुलाई आशा भरोसा जगाउँदै उनीहरुका वृहत्तर हितलाई सम्बोधन गर्न सफल भएको सन्दर्भमा अन्य वैकल्पिक प्रणालीका लागि बेजोड आवाज र संघर्षहरु थालनी भै प्रणाली नै परिवर्तन भए । तथापी कतिपय सन्दर्भमा प्रणालीगत परिर्वतन पनि लामो समयसम्म परिक्षको रुपमा नै रहे र तिनीहरुले मुलुकको विकास तथा मानव सभ्यताको उत्थानका खातिर खासै कुनै काम गर्न सकेनन । यि सवै अवस्थालाई एकै स्थानमा राखी विश्लेषण गर्ने हो भने वास्तविक राजनैतिक कृयाकलाप र दृष्टिकोण माथी व्यक्ति वा राजनैतिक नेतृत्वको दृष्टिकोण र बोधगम्यतालेराजनितिको यर्थाथ अवस्थाको चित्रण गर्दछ ।
वास्तवमा राजनीति मानव कल्याण्कारीताका लागि तथा सामाजिक भलाईका लागि सर्मपित हुनुपर्छ । यो दृष्टिकोणबाट दीक्षित राजनैतिक नेतृत्वले राज्यमा समभावको जागृति गर्दै क्षमता र दक्षताको कदर गर्ने आर्थिक, सामाजिक, प्रशासनिक, न्यायिक तथा अन्य प्रणालीको स्वतन्त्र क्रियाकलाप र विचरणमा विशेष जोड दिन्छ । जसका कारण राज्यका हरेका संयन्त्रहरु चुस्त दुरुस्त, न्यायिक स्वतन्त्रता, निडर, निष्ठावान तथा भ्रष्ट्राचारमुक्त समभावबाट प्रेरित उच्च सेवा प्रदायकका रुपमा समाजमा प्रतिष्ठित भै काम गरिरहेका हुन्छन् ।
राजनीतिमा सर्मपणभावबाट दीक्षित राजनीतिज्ञहरुले राजनैतिक क्रियाकलापमा आफ्नो संलग्नताको व्यक्तिगत भलाई वा प्राप्तिका लागि कहिल्यै पनि गरेको पाइन्न । अठारौं शताब्दीको अन्त्यतिर अथवा उन्नाइसौं शताब्दीको शुरुवात तिर विश्व राजनीतिक प्रणालीमा भएका ठूलाठूला परिवर्तन र ति परिवर्तनको नेतृत्वदायी भूमिकामा रहेका विश्वका राजनेताहरुको इतिहासलाई सामान्यत अध्ययन गर्ने जो कोहीले राजनीतिमा समर्पणभावको मूल्यलाई सहजै बुझ्न सक्छ । यति मात्र नभई दक्षिण एशियाली मुलुकहरुमा वीसौं शताब्दीको अन्त्यतिर भएका राजनैतिक परिवर्तनको नेतृत्व गर्ने दक्षिण एशियाली नेताहरु महात्मा गान्धी, जुल्फीकर अलि भुट्टो, जहारलाल नेहरु, विश्वेश्वरप्रसाद कोइराला आदिको राजनैतिक चेत र व्यवहारलाई मात्र हेर्ने हो भने पनि राजनीतिमा सपर्मण भाव के हो भने पनि राजनीतिमा समर्पण भाव के हो भन्ने कुरा प्रष्ट हुन थप समय खर्चिरहनु पर्दैन ।
राजनैतिक मूल्य मान्यताको लागि हुनुपर्छ । यसले देश जनाता र दुनियाँको भलो गरेको हुनुपर्छ । राजनीति व्यक्ति भलाईको लागि हुनु हुँदैन । किनकी नाफा घाटा जस्ता तत्वहरुको समावेश केवल व्यापारमा मात्र हुन्छ । व्यक्ति यदि लाभहानीको भावनावाट प्रेरित रहन्छ भने उसको छनोट व्यवसाय हुनुपर्छ न कि राजनीति । राजनीति केवल सेवाभाव र समर्पणबाट प्रेरित हुन्छ र हुनुपर्दछ । अतः जब व्यक्ति समाज सेवामा तल्लिन भै लाभहानी जस्ता कुरालाई गौण मानी जीवनका शेष समय समाज, जनता र मुलुकका लागि समर्पण भाव राखी अगाडि आउने बिचारबाट प्रेरित रहन्छ । तब मात्र ऊ राजनीतिमा सरिक हुनुपर्छ । उक्त मान्यताबाट नेपालमा प्रजातन्त्रको बहालीका लागि अग्रपंक्तिमा नेतृत्व गर्ने नेपाली राजनीतिज्ञहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, पुष्पलाल अमात्य, सुशील कोइराला आदि समर्पण भएको राजनीतिबाट प्रेरित भै मुलुक र जनताको भलाइको काम गरेका राजनेताहरु हुन् भन्ने कुरा यिनीहरुले आफ्नो राजनैतिक जीवनमा नेपाली तथा नेपालको उत्थानका लागि गरेका राजनैतिक कर्मबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
२०४६ सालको राजनैतिक परिवर्तन पश्चात नेपाली राजनीतिक क्षेत्रमा खुल्लापनको सँगै समर्पणभावको राजनीति र लाभहानीको राजनीति बीच टकराव हुँदा लाभहानीलाई राजनीतिक आवरण दिने घेराबन्दीकै कारण जीवनभर समर्पण भावको राजनीति गरेका नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व.कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनको उत्तरार्धमा आफूले संघर्ष गरि निर्माण गरेको पार्टी नै परित्याग गरी बसेको कुरा भनिरहनु पर्ने यथार्थ होइन ।
२०६३ को आन्दोलन र त्यसभन्दा पछिका विभिन्न विद्रोहहरुको थालनीमा नै समर्पणभाव भन्दा नाफाघाटाको राजनीतिले काम गरेको थियो भन्ने कुरा समय समयमा चर्चा भएका क्यान्टनमेन्टको घोषणा तथा राज्यस्तरमा विभिन्न विभाग तथा मन्त्रालयलाई मुछेर चर्चा भएका ठूलाठूला भ्रष्टाचारका काण्डहरुकले थप पुष्टि गरेका छन् । पछिल्लो समय विगत ३ वर्षदेखि नेपालमा विद्यमान रहेको वामपन्थीरुको बहुमतको सरकार र उक्त सरकारलाई विस्थापन गर्न वामपन्थी पार्टीमा नै भएको शक्ति संघर्ष र कोरोना भाइरसको महामारीले आक्रान्त भएको नेपाली अर्थतन्त्रलाई एउटै बास्केटमा राखेर विश्लेषण गर्ने हो भने यहाँ चर्चा भएका सरकारका असंवेदनशील व्यवहार, पार्टीको आन्तरिक शक्ति संघर्षका कारण मुलुकको वास्तविक समस्या माथि राजनैतिक दल तथा सरकारको उदाशीनतालाई हेर्दा नेपाली राजनीतिज्ञहरुले समग्र राजनीतिकै उपहास गरिरहेको भाव नेपाली जनमानस मात्र नभई विश्वका अंकित राजनीतिमा चासो राख्ने आममानिसले आभाष गरिरहेका छन् ।