एजेन्सी । साविक विजेता रियल म्याड्रिडले ला लिगाको अन्तिम खेलमा शनिबार भिल्लारियलको सामना गर्दैछ । शनिबार हुने खेलमा रियलले जित निकाले र शिर्ष स्थानको एथलेटिको म्याड्रिडले रियल भाल्लाडोलिडसँग अङ्क गुमाएको खण्डमा रियलले उपाधि जित्नेछ ।
सिजनको अन्तिम तथा महत्त्वपूर्ण खेल अगाडि म्याड्रिड समर्थकले खुशी र दुखको खबर एकैसाथ पाएका छन् । च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत चेल्सीसँगको दोस्रो लेगमा चोट बोकेका कप्तान सेर्जियो रामोस टोलीमा फर्किएका छन् भने फरवार्ड इडेन हाजार्ड घाइते हुँदै भोलिको खेलको लागि बाहिरिएका छन् ।
रामोसले चेल्सीसँगको खेलमा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । रामोसको आगमनसँगै स्पेनलाईपनि युरोकप अगाडि राहत मिलेको छ । प्रशिक्षक जिदानले प्रि-म्याचमा बोल्दै रामोस भोलिको खेलको लागि फिट रहेको बताए । ” रामोस भोलिको खेलका लागि हामीसँग हुनेछन् । उनी पुर्ण रुपमा फिट भैसकेका छन् ।” जिदानले भने ।
यता हाजार्ड भने सामान्य चोट बोक्दै टिमबाट बाहिरिएका छन् । जिदानले हाजार्डमाथि कुनै जोखिम नलिने बताए । उनले भने, हाजार्ड सामान्य घाइते छन् । हामी केहिपनि जोखिम लिन चाहँदैनौं ।”